सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु ।  सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक २०७९/८० को सोही अवधिमा काठ निकासी दुई हजार ३९ दशमलव ६६ क्युफिटले गिरावट आएको हो । गत आवको पहिलो छ महिनामा ६७ हजार चार सय २६.८२ क्युफिट काठ निकासी भएकोमा चालु आवको सोही अवधिमा ६५ हजार तीन सय ८६.१६ क्युफिट काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । 

जसबाट रु २३ लाख ३१ हजार चार सय ६४ मूल्य अभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बाँस्तोलाले बताउनुभयो । चालु आवमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेले लगानी गर्न नसक्नुलगायतका कारणले काठ निकासीमा गिरावट आएको अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : १९ बजे