सुनको मूल्यमा नयाँ कीर्तिमान

पूर्वी नाकामा कोभिडसँगै मलेरिया र एचआइभी परीक्षण

झापा । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको छ ।

विगत तीन वर्षअघि कोभिड–१९ को जाँच गर्न मेची पुलको मुखमै कार्यालय स्थापना गरेर राखिएको डेस्कमा मन्त्रायलयकै निर्देशनमा यी रोगको पनि परीक्षण गर्न थालिएको हो ।

कार्यालयमा मन्त्रालयकै मातहतमा रहनुभएकी ल्याब असिस्टेन्ट शान्त भण्डारीले भारतलगायत तेस्रो मुलुकबाट आउनेको शङ्का लागेमा जाँच गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँले डेस्कमा दैनिक पाँचदेखि १५ जनासम्मको मलेरिया र तीनदेखि चार जनासम्मको एचआइभी परीक्षण गरिँदैै आएको बताउनुभयो । “हामीलाई भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्छौं”, उहाँले भन्नुभयो, “अन्य रोगको जाँच गर्न सजिलै छ, तर एचआइभी परीक्षण गराउन गाह्रो हुन्छ ।

”उहाँका अनुसार विशेष गरी डेस्कमा भारतका विभिन्न स्थानबाट नेपालमा रोजगारीका लागि आउनेको भने अनिवार्यरुपमा एचआइभी र मलेरियाको परीक्षण गरिएको छ । मन्त्रालयले एक अहेबसहित दुई कर्मचारीलाई सीमा डेस्कमा खटाउँदै आएको छ ।

यसैगरी सीमामा काउन्सिलिङ गर्न र कोभिडसँग अन्य रोगको जाँचकै लागि प्रदेश नं १ को स्वास्थ्य मन्त्रालयलेसमेत एक ल्याब असिस्टेन्टको व्यवस्था गरेको छ । मेचीनगर नगरपालिकाले चार स्वास्थ्यकर्मीलाई सीमामा विगत तीन वर्षदेखि नै खटाउँदै आएको छ । “दैनिक यो नाकाबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या दुई÷तीन सय बढी छ”, प्रदेश मन्त्रालयबाट खटाइएकी ल्याब असिस्टेन्ट रक्षा देउजाले भन्नुभयो, “जनशक्ति अभावले काम गर्न कठिनाइ भइरहेको छ ।”

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ४४ बजे