साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जापानी मेयरलाई चिन्डो उपहार

​​​​​​​खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरूप हस्तान्तरण गर्नुभएको छ  । 

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुग्नुभएका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डा अङ्कित लगायतका उपहार हस्तान्तरण गर्नुभएको हो ।

मेयर भट्टराई र ओखावा हिदेकोबीच बिहीबार भेटघाट भएको हो । खोटाङका शैक्षिक अभियन्ता सूर्य राईले सामाजिक सञ्जालमा ‘मेयर भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, सांस्कृतिक पहिचानजन्य सामग्री जापान पुर्‍याउनु गौरवको विषय भएको’ प्रतिक्रिया दिनुभएको छ। 

मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत् सम्बन्ध अमर बनाउन तोचिगी आएको’ बताउनुभएको थियो । भेटघाटका क्रममा मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ ।

“जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाइ, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्य बोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ”, मेयर भट्टराईले भन्नुभयो, “यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ ।” 

गत मङ्सिर ९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान जानुभएको हो। 

मेयर भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखि भित्र नेपाल र जापानको राष्ट्रिय झण्डा लहरै राखिएको थियो । भट्टराई गेटबाट प्रवेश गरे लगत्तै दायाँ–बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झण्डा हल्लाउँदै स्वागत गरेका थिए । 

तोचिगी नगरले मेयर भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको एनआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताउनुभएको छ । तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दै आउनुभएका महेश लुइँटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिनुभएको छ  ।

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालीन सम्बन्ध स्थापित गर्न कोसेढुंगा साबित हुने र भगिनी सम्बन्ध स्थापित हुने सङ्केतका मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताउनुभयो । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ०७ बजे