टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।   

त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ः०० बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।  

“निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठुला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दै आएको छ । 

आइबार, मङ्गलवार, बिहीबार र शनिवार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु आठ हजार आठ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार र अधिकतम रु १२ हजार रहेको छ । 

हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : १८ बजे