सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो । 

सात सदस्यीय कार्यदलको संयोजक पूर्व सचिव शरदचन्द्र पौडेल रहनुभएको छ । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ ।

कार्यदलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य रहनुभएको छ । 

कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनु हुनेछ । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहनुभएको छ । 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : १४ बजे