मकैको बीउ उत्पादनसँगै निर्यात

दिपायल । दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

जोरायाल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन भई रु एक करोड एक लाख बराबरको निर्यात भएको प्रमुख पनेरुले बताउनुभयो । 

जोरायल गाउँपालिका–४ की नर्मी देवी थापामगरले १० रोपनीमा अरुण–२ र रामपुर कम्पोजिटजातको १ Þ३ मेट्रिक टन मकैको बीउ उत्पादन गरी करिब रु ९५ हजार दुई सय ५६ बराबरको आम्दानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ ।” किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बीज वृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा रहेको थापामगरले भन्नुभयो ।  

जोरारायल  गाउँपालिका–४ मा रहेको श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी  संस्था लिमिटेडमार्फत पालिकामा नौ सय किसानले उत्पादन गरेको ७० टन मकैको बीउ खरिद गरी रु ६२ लाख बराबरको बीउ जिल्ला बाहिर निकासी भएको सहकारीका व्यवस्थापक ठक्कर कठायतले बताउनुभयो ।  

 जोरायल गाउँपालिका–१ गैरामा रहेको जैविक विविधता संरक्षण सहकारी  संस्थाले पनि स्थानीय दुई सय ८० किसानले उत्पादन गरेको उन्नत जातको ३९ टन मकैको बीउ रु ४५ लाखमा जिल्ला बाहिर निकासी भएको संस्थाका व्यवस्थापक गणेश बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो जिल्लामा उत्पादन भएको मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट उन्नत जातको मकैको बीउ जिल्लाका विभिन्न सहकारीमार्फत धनगढी, चितवन, काठमाडाँैलगायत स्थानमा जाने गरेको बताउनुभयो । किसानले उत्पादन गरेको मकैको बीउ स्थानीय तहमा रहेका कृषि शाखा र विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रमा पनि जाने गरेको विष्टले बताउनुभयो । 

बडी केदार गाउँपालिका र जोरायल गाउँपालिकालाई मकै उत्पादनको पकेट क्षेत्रकारूपमा राखिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।  
 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : १० बजे