प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले आत्मदाहबाट मृत्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो। समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए। लगत्तै कर्तिपुर बर्नअस्पताल पुर्‍याइएका उनको बुधबार विहान मृत्यु भएको थियो। 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ६ : ५२ बजे