आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी एमाले भएको बताउनुभएको छ ।

वसन्त पञ्चमी(श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरूको साझा राष्ट्रिय आकाङ्क्षा भएको भन्नुहुँदै एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको बताउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई प्राप्त गर्न स्पष्ट दूर दृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित एमाले अघि बढिरहेको बताउनुभयो । 

देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने यस उद्देश्यमा एकताबद्ध हुन अध्यक्ष ओलीले सबैमा आह्वान समेत गर्नुभयो  ।  

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्ने बताउनुभयो । उहाँले त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्म जयन्तीका रूपमा मनाइने वसन्त पञ्चमी अर्थात् आजको दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रूपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रूपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रूपमा लिइएको छ । वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रूपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्प सुगन्ध फैलिन्छ, रुखहरूमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गिन पुतलीहरूको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने छ । 

वैदिक मान्यता अनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकास क्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रूपमा सरस्वतीलाई लिइन्छ ।

प्रज्ञाप्रकाशको प्रतीकका रूपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाइँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस पर्वका अवसरमा काव्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, सङ्गीत र कला साधक तथा ज्ञानका अध्येताहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : ०४ बजे