बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने

काठमाडौँ । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

उहाँले कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताउनुभयो । 

उहाँले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटखा र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताउनुभयो । 

उहाँले चुरोट, गुट्खा र बिँडीको मूल्यसहित पोस्टर टाँस गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन, २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई जरिवाना गरिने बताउनुभयो । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २० बजे