साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रेम आचार्यको देहत्यागसँगै जन्मेका केही प्रश्नहरू

विद्युतीय सञ्चारमाध्यमले एकस्वरमा कुरा ल्याइरहेको छ– इलामका युवा उद्यमी प्रेम आचार्यले हिजो अपरान्ह राजधानीको बानेश्वरमा देहत्यागको प्रयासस्वरुप आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । सल्कनासाथ उहाँको शरीरमा दनदनी आगो लागेको देखियो । आगोले भयावह आकार लिएसँगै निकै ठूलो पराकम्पन सिर्जना उहाँको चित्कार पनि सुनियो । आगोको रापतापलाई तत्काल मत्थर गर्ने वैकल्पिक उपाय नहुँदा केहीबेर जलिरहेको आगोलाई धेरैबेरसम्म हेर्न नसकिने कारुणिक दृश्यचित्रले रातभरि सुत्न दिएन, घरिघरि झल्यास्स झल्यास्स आँखाअघि आइरह्यो ।  

संघीय सरकारको प्रधानमन्त्री सवार भइरहेको समयमा यो परिघटना संयोग थियो कि योजनाबद्ध ? संघीय संसद चलिरहेकै समय यो प्रकारको घटना कसरी घट्न पुग्यो ? स्वविवेकमा थियो कि दुरुत्साहन ? कसैले प्रोत्साहित तुल्यायो कि स्वभाविक ढंगले हुन पुग्यो ? पीडा र निराशाकै अभिव्यक्ति हो त यो आत्महत्या ? यी थुप्रै कोणबाट अध्ययन होला नै ।
तथापि, कल्पना परिकल्पनाबाहिरको यो नघट्नुपर्ने घट्ना घट्यो । अत्यन्तै अनुचित् घटना घट्यो । वाञ्छनीय क्रियाकलाप यो होइन । विडम्बना ! भएरै छाड्यो । उपचारको क्रममा उहाँको देहावसान भयो, उहाँले देहत्याग गर्नुभयो । प्रथमतः दिवंगत युवा व्यक्तित्व प्रेम आचार्यप्रति भावपूर्ण शब्दश्रद्धासुमन अर्पण गर्दछु । 

ज्ञानको अज्ञानता
कति निर्मम र कठोर निर्णय उहाँको ! अघि लेखिएका विषयवस्तुलाई सार्वजनिक बहसको विषय बनाउन सक्नुभएन, स्वयंमा सम्हालिन सक्नुभएन । वस्तुतः यसबाट आम मानिसको मन एकाएक गह्रुँगो भएको छ भने राज्यले लज्जा बोध गरेको छ । राज्यसामु गम्भीर प्रश्न खडा भएको छ । मलाई लाग्छ– राज्यले यो दृश्य चित्रलाई नजिकैबाट ग्रहण गर्नेछ, पढ्ने छ र युवालक्षित नीति कार्यक्रममार्फत युवा ज्ञान र पहिचानको व्यवस्थापन सँगसँगै स्वदेशी पुँजी र प्रविधि परिचालनको प्रक्रियाबाट राष्ट्रिय पुँजी वृद्धिमा राज्य लाग्नेछ ।  

दिवंगत प्रेमले रच्नुभएको यो डरलाग्दो र अत्यन्तै अप्रिय घटना परिघटनाले नेपाली समाज एकखालको बहस, विमर्शमा ओर्लिएको छ । मृत्युको बाटो रोज्नुपूर्व प्रेमले नै उल्लेख गर्नुभएका विषयवस्तुलाई ओल्टोकोल्टो पार्दै मुख्यतः तीनथरिका कुरा सतहमा आएका छन्– १) युवाउद्यमी प्रेमको आत्महत्याको प्रयास प्रतिनिधिपात्र र घटना मात्र हो, २) राज्य र राज्य प्रणाली पूर्णतः दोषी छ र ३) देशमा युवालक्षित कार्यक्रम केही पनि छैन । फलस्वरुप विकल्प अभावमा आत्महत्याको बाटो समाउन हुन जरुरी छ । 

यो सतही आँकलन, विवेचना र विमर्श मात्र हो । यो घटनालाई प्रतिनिधिपात्रको प्रतिनिधि घटना हो भन्ने हो भने यो त समकालीनमाझ अर्को कसैलाई उक्साए जस्तो अर्थात् प्रोत्साहित तुल्याए जस्तो भएन र ? राज्य र राज्य प्रणाली पूर्णतः दोषी छ भन्ने हो भने पनि यसलाई सच्च्याउन सकिन्न र ? हामी सबै निरिह हौँ त ? सच्च्याउने, सुधार्ने कोर्स आरम्भ गर्न सकिन्न र ? सच्च्याउने, सुधार्ने दायित्व हाम्रो होइन र ? अयोग्य नीति निर्माता त्यो ठाउँमा छ भने हामी योग्यले त्यसलाई प्रतिस्थापन गर्नुपर्दैैन र ? देशमा युवालक्षिक कार्यक्रम छैन भन्ने हो भने यो देश बालबालिका र बृद्धबृद्धास्थल मात्र बनेको हो र ? कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी हामी तमाम युवाको होइन र ? कार्यान्वयनमा हुर्किएको विकृति र बेथीति भए खबरदारी गर्ने काम पनि हाम्रो होइन र ? 

अतिरञ्जना होइन
विगत केही समययता यो देशलाई सक्ने खेलभित्र कमजोर पार्न र बद्नाम तुल्याउन तमाम शक्तिहरू लागेका छन्, डेराडण्डा जमाएर बसेका छन् । देखिएको छ– कतिपय घटनाक्रमलाई अतिरञ्जनामा ल्याएर राजनीतिक अकर्मयता र अस्थिरताको बीउ रोप्ने काम गर्दै आएका छन् । हामीले पनि त्यहिँ बोलिमा लोलि मिलायौं भने रहँदैन देश, रहँदैनौं हामी भन्ने निष्कर्ष निकाल्न ढिला गर्नुहुँदैन । परस्पर भड्काव अभिव्यक्ति होइन, विवेक र संयम राख्न जरुरी छ ।

एउटा गम्भीर घटनाका सन्दर्भमा राज्य नै नभएको अनुभूति दिने तहको बहस–विमर्शमा ओर्लदा हामी स्वयं कति जिम्मेवारपूर्वक र जिम्मेवारीबोधका साथ संलग्न भइरहेका छौँ भनेर घोत्लन जरुरी हुन्छ । यसरी नै छरपस्ट बहसमा ओर्लियौं र निष्कर्ष निकाल्यौं भने हामी कहाँ पुग्छौँ ? कसैकसैले उहिले १९९८ लाग्दै अरुण नदीमा हामफालेर मृत्युवरण गर्नुहुने योगमाया न्यौपाने सहित ६७ को तुलना पनि यो घटनासँग गरेका छन् । समय, परिस्थिति, बजार र वस्तुगत आवश्यकता आदिका दृष्टिकोणले पनि बानेश्वर घटनाको तुलना अरुण नदीसँग किमार्थ हुन सक्दैन ।  

दिवंगत प्रेमजीले आफ्नो सक्रिय जीवनकालमा कठोर संघर्ष गर्नुभएको, उद्यमशील नागरिकको रूपमा उभिएर जीवननिर्वाहको दैनन्दिनको गति र कर्मसँगै सुन्दर सपना बुन्नुभएको र सुनौला योजनाका चाङहरू लिएर कार्यान्वयनमा लाग्नुभएको उहाँको अन्तिम लेखनबाट थाहा हुन्छ । उहाँको यो लेखन मसिनो पढ्दागुन्दा यहाँ सोसियो–इकोनमिक्सको राम्रो ज्ञाता हो कि भन्ने आभास पर्छ र बढ्छ पनि । तर पनि आत्महत्याको बाटो किन रोज्नुभयो त ? गम्भीर र अनुत्तरित प्रश्न मनैमन तैरिन्छ । 

तरंग र यथार्थ
देशबाहिर जीवन खोजिरहेका र बाँचिरहेकाले अलिक बढी हलचल ल्याउन, तरंग पैदा गर्न र अस्थिरता निम्त्याउन खोजेको देखिन्छ । परिणामतः यो एकदमै गलत हुन सक्छ । जसले दैनन्दिन प्रत्यक्ष परोक्ष केही दिन सक्दैन, त्याग र योगदान गर्न सक्दैन, उसैले अलिक बढी उछितो काडेको देखिन्छ ।  

हेक्का रहोस्– खाडी मुलुकबाट भित्रिएको रकम जति त नेपालमा आएर काम गर्ने भारतीय कामदारले लिएर फर्कन्छन् । अन्तर्राष्ट्रिय व्यापार घाटामा छ । आयत रोक्न र निर्यात बृद्धिमार्फत यसलाई प्रतिस्थापन गर्न सकिएको छैन । नेपाली श्रमिक युवाजनको अभावमा हाम्रा खेतबारी अनकन्टार र बाँझा भइसके तर तरुलभ्यागुरदेखि लिएर नुन, चिनी, चामल, दाल तेललगायत अति उपयोगी वस्तु भारत र बंगलादेशबाट आइरहेको छ । यो हामी रोकथाम गर्न सक्दैनौँ ? उत्पादन बढेमात्र यो आयतीत वस्तुको रोकथाम हुनसक्छ । उत्पादन बढाउने शक्ति देशबाहिर छ । ज्ञान, सीप र सिर्जना जिन्दगीको मौजमस्तीसँग साटेर बनेको छ । बुढेशकालको कष्टकर दिन काटेका बुबा–आमालाई ढाडसबाहेक केही दिन सकेको छैन । तिनको स्याहारसम्भार त के– मुखाग्नि दिन समेत आइपुग्दैन । कर्तव्यबाहिरको जीवन बाँचेसँगै देश सकियो भनेर सत्तोश्राप र गालीगल्लौच मात्र गर्छ । 

समस्या र समाधान
अहिले देहत्याग गर्ने महान हुन् भनेर देवत्वकरण गर्दा वा देहत्याग कायरता हो भनेर दानवीकरण गर्दा समस्या झेलेर बसेका र बाँचेका मानिसमा आघात पुग्ने कुराको उत्तिकै हेक्का हुन जरुरी छ । कहीँ न कहीँ, कसै न कसैसँग ठगिएको छ, हेपिएको छ, पिल्सिएको छ । हो, यहाँनेर राज्यको पहुँच वृद्धि गर्नु आवश्यक देखियो । एउटा नागरिकले निर्धक्कसँग सडकमा आएर आगो झोस्नुको सट्टा मेरो सरकार छ, यसले मेरो सोधीखोजि गर्छ र जस्तोसुकै बेलामा पनि मलाई एक्लो र असहाय हुनदिँदैन भन्ने कुराको अनुभूति दिन राज्य उभिनुको खाँचो देखियो । 
यतिबेला यथास्थितिबाट उठ्ने कुराको हकमा विकल्प चाहर्नु मात्र राम्रो हुन्छ । फगत मथिङ्गल गर्ने कुराले परिस्थितिलाई सहजभन्दा पनि असहज बनाउनेतिर केन्द्रीत गर्छ । कसैको मनोबल कुनै कारणले उक्सने वा खस्कने व्यवहार र वाणीहरू नै यस बेलामा दोषि हुनेछन् र आलोच्यपूर्ण छन् । 
समस्या नभएको होइन, समस्या छ । राज्यका विभिन्न तहमा समस्या छ । समस्या विद्यमान नवउदारवादी अर्थतन्त्रमा आधारित दलाल पूंजीवादमा छ । हाम्रो बुझाइमा समस्या छ । समस्या समस्याको व्यवस्थापन गर्ने परिपाटीमा छ । समस्या जहाँजहाँ जेजस्तो अवस्था भए पनि समस्याको उचित समाधान आत्महत्या होइन । समस्या जहाँ छ, समाधान त्यहिँबाट आरम्भ गरौँ ! अब अहिले एकातिर दिवंगत प्रेमले अन्तिम लेखनमा भनेझैँ राज्य व्यवस्थासँग अन्तरनिहित समस्या छ भने अर्कोतिर निजको सेखपछि रहेका परिवारजनमा समस्याको अजंग पहाड उभिएको छ । थोपा–थोपा मिलेर सागर बन्ने हो । सागर बन्ने कर्ममा परस्पर हातेमाले गर्दै मिलेर समस्याको समाधान गरौँ ! कुनै न कुनै ढंगले कसैलाई पनि दुरुत्साहन र नराम्रो कर्मप्रति प्रोत्साहन तुल्याउने काम नगरौँ ! उहाँको भौतिक उपस्थितिको अभावमा त्यो अन्तिमपत्रलाई राज्य निर्माण र सञ्चालनका लागि गम्भीर ध्यानाकर्षणपत्र भनेर बुझियो भने सार्थक पहल रहेको कुरालाई इतिहासले चिन्तनमनन र ग्रहण गर्नेछ । दिवंगत प्रेमका पीडामिश्रित आरोपहरू राज्यको गम्भीर ध्यानाकर्षणको विषय बनोस् ! यसमा हामी सबै सहभागी बनौँ ! भावपूर्ण श्रद्धासुमन !
 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ५६ बजे