गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताउनुभएको छ । 

नयाँबानेश्वरमा मङ्गलवार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आमगनले समेत युवाहरूमा उत्साह थप्न नसकेको स्वीकार गर्नुभएको हो । 

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उहाँले आफूहरू जस्ता नयाँहरूको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताउनुभएको छ  । 

यसमा आफू समेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । “म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ,  हामीलाई  माफ गर्नु होला”, सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेख्नुभएको छ । 

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्रीले उनको मृत्युमा आफू पनि दोषी रहेको बताउनुभएको हो । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले लेख्नुभएका छः 
​​​​​​​एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पीडाको परिणाम  हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ,  हामीलाई  माफ गर्नु होला। तपाईँको आत्माले चीर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

 

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ५५ बजे