सुनको मूल्यमा नयाँ कीर्तिमान

कैलालीका तीन पालिकामा दादुरा देखियो

धनगढी । कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । 

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका तीन बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

“तीन जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भइसकेको छ”, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भन्नुभयो, “अन्य केही बालबालिकामा पनि दादुरा भएको आशङ्का गरिएको छ, उनीहरूको नमुना परीक्षण भइरहेको छ ।”

उहाँका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रवार दादुरा पुष्टि भएको हो । 

उहाँका अनुसार दुवै बालकले दादुरा विरुद्धको पूर्ण खोप लगाएका  थिए । गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको  छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनुभयो ।

धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको उहाँले बताउनुभयो ।  

खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ । 

बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनुभयो ।

 

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : १६ बजे