‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पक्की पुलले जोडियो कर्णाली र सुदूरपश्चिम

सुर्खेत । कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथि पक्की पुल निर्माण भएपछि अन्तर प्रदेश जोडिएका हुन् । ३ सय मिटर दूरीको पुल ३२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । पुल बनेपछि पश्चिमका नागरिकलाई जोखिम मोलेर कर्णाली नदी तर्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज हुने गरेको थियो । ‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउने भयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भन्नुभयो, ‘यसअघि सामानकै लागि झोलुङ्गे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’ दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भण्डारीले बताउनु भयो । पुल बनेपछि कर्णालीका १० वटै जिल्लाका नागरिकलाई भारत जान होस् या व्यापार व्यवसायका लागि सहज हुने उहाँको भनाई छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ४ : २३ बजे