रसुवामा राहदानी प्राप्तिका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था 

रसुवा ।  रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन् । 

हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।         

सरदरमा दैनिक १०/१२ सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भराउने गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण केही राहत मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका  छन् । नियम सङ्गत तरिकाले जिल्ला प्रशासन कार्यालयमा पेस भएका माग पत्रलाई आजको आजै सम्बोधन गर्दै कार्यसम्पादन गर्ने गरिएको छ ।

यस्तै विपद् व्यवस्थापनका लागि सबै सुरक्षा अङ्गलाई आवश्यक साधनसहित तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताउनुभयो ।  रासस

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : २३ बजे