वालिङ । स्याङ्जाको वालिङ खेलमैदानमा बुधवार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ ।
एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो । उक्त खेलमा वालिङ निलोका लागि अजय मार्टिन्सले निर्णायक गोल गरेका थिए ।
विजयी वालिङ निलोले शनिवार वालिङ युनाइटेड रातो र एभिनियरबीच हुने खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बुधवारको खेलमा वालिङ युनाइटेडका विश्वास श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दोस्रो सेमिफाइनल खेल आज वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ ।
वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्ड कप स्याङ्जाकै सर्वाधिक राशिको प्रतियोगिता हो । शनिवार फाइनल खेल हुनेछ । हालसम्म लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र एपिएफ फुटबल क्लब काठमाडौँ प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगितामा उपाधि जित्ने टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । रासस
प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार ८ : १५ बजे
प्रतिक्रिया