देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखका लागि देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुहुने जानकारी दिनुभयो । 

सभामुखमा घिमिरेसँगै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकाङ्क्षी हुनुहुन्थ्यो । तर एमालेले घिमिरेलाई नै सभामुखको उम्मेदवार बनाउने भएको हो ।

झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ । 

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्य तालिकाअनुसार आज दिउँसो १ः०० देखि ४ः०० बजेसम्म मनोनयन दर्ता हुँदै छ ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : ४९ बजे