सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते  बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । 

सङ्घीय संसद् सचिवालयद्वारा मङ्गलवार प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । 

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची सोही दिन ४ः१५ बजे प्रकाशित गरिने छ । 

प्रतिनिधिसभाको माघ ५ गते ११ः०० बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्य तालिका छ । 

त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न मङ्गलवार निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्य मध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रूपमा प्रतिनिधिसभा रहिआएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ०१ बजे