नगरपालिकामा सिटामोललगायत आधा दर्जन औषधि अभाव

मुगु – मुगुमा रहेका चार वटा स्थानीय तहहरू मध्ये एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा पछिल्लो समय सिटामोललगायत करिव आधा दर्जन औषधि अभाव भएको छ ।

छायानाथ रारा नगरपालिकामा रहेका १९ वटा स्वास्थ्य संस्थामा सामान्य सिटामोलदेखि आधा दर्जन औषधि अभावको सिर्जना भएको हो । 

हरेक वर्ष स्वास्थ्य क्षेत्रमा स्थानीय पालिका र संघीय सरकारबाट लाखौको बजेट विनियोनज गरे पनि छायानाथ रारा नगरपालिकामा रहेका आधारभूत स्वास्थ्य सस्थादेखि स्वाथ्यचौकी सम्म सिटामोललगायत अन्य औषधीको अभाव भएको हो । 

सामान्य रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने शरीर दुख्ने जस्ता बिरामी स्वास्थ्य संस्था गएपछि सिटामोल, ब्रोफिन, कोटियम, अक्सोटेसिन, सर्जिकल ग्लोब्स, बेडलगायत अन्य बिरामी पर्दा उपचारका लागि पालिकाभित्र रहेका १ देखि १४ वडाका नागरिकहरू उपचार गर्नका लागि हिजो आज चर्काे मूल्य तिरेर निजी मेडिकल र गमगढी बजार पुगेर औषधी उपचार गर्न बाध्य छन् ।

उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका नागरीकलाई स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधी छैन भने पछि रित्तो हात घर फर्कने र जिल्ला अस्पतालमा गए पनि चेकजाँच गरिसकेपछि बजारमा रहेका निजी मेडिकलमा औषधि उपभोग गर्न बाध्य भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का तारादेवि ऐडीले बताइन् । बजारको निजी मेडिकलमा चर्को मूल्य हालेर औषधि जोहो गर्नुपर्ने र आर्थिक समस्या पनि उस्तै हुने ऐडीले बताइन् ।

नगरपालिकामा रहेका स्वास्थ्य चौकिमा विगत एक महिनादेखि औषधि अभाव देखिएको छ । स्वास्थ्य संस्थामा सामान्य सिटामोल देखि वर्थिङ सेन्टरमा प्रयोग हुने सर्जिकल ग्लोब्सलगायत धेरै स्वास्थ्य सामग्री अभाव देखिँदा उपचारमा आएका बिरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिने बाहेक अन्य कुनै पनि अवस्था नहुने र औषधि विनानै घर फर्काउने गरेको नगरपालिकाको स्वास्थ्य शाखामा औषधि माग गर्दा औषधि नभएको जानकारी दिने गरेको ढुंगेधारा स्वास्थ्य संस्थाका सिनियर अहेब मानसिंह ऐडीले बताए ।

यता छायानाथ रारा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव भए पनि प्रयाप्त मात्रा नगरपालिकाको स्टोरमा औषधि रहेको छ । आर्थिक बर्ष २०७९/०८० मा नगरपालिका भित्र रहेका १९ वटा स्वास्थ्य संस्थामा एक/एक लाखका दरले १९ लाख बरावरको औषधि खरिद गरिएको भए पनि नगरपालिकाको २६ हजार जनसंख्यालाई हेर्दा यो खरिद औषधि न्यून हो ।

जनसंख्याको आधारमा ६० लाखदेखि एक करोडसम्म वर्षेनी औषधि खरिद गर्नेुपर्ने देखिन्छ । स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनको लागि सदैव नगरपालिका तत्पर रहेको छायानाथ रारा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पशुपति शाहीले बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : १८ बजे