पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिनुभएकाे छ ।

प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिनुभएकाे हाे । साथै, प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि उहाँको भनाइ थियो ।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रही काम गर्न समेत मन्त्री लामिछानेले निर्देशन दिनुभएकाे छ । 

गत २८ पुसमा भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयाे । यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उहाँको निर्देशन थियो ।

संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने बताउनुभयाे । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ३५ बजे