साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले इन्द्रावती बैठक : पार्टी छाडेकालाई फर्काउनेदेखि,कमिटीलाई व्यवस्थित बनाउनेसम्म

सिन्धुपाल्चोक । नेकपा एमाले इन्द्रावती गाउँ कमिटीले सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा गठबन्धनलाई भन्दा २०८ मत एमाले उम्मेदवारलाई दिएको भन्दै इन्द्रावती नाैँ नम्बर वडा कमिटीलाई सम्मान गरेको छ । 

शुक्रवार नवलपुरमा बसेको पालिका कमिटीको बैठकले इन्द्रावती ९ लाई प्रशंसा पत्रबाट सम्मान गरेको हो । 

एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख अतिथिमा बसेको बैठकमा बागमती प्रदेश कमिटी सचिवालय सदस्य झम्क नेपाल,पालिका इन्चार्ज डबले लामालगायत पार्टी प्रदेश र जिल्ला नेताहरूको उपस्थिति रहेको थियो । 

बैठकले पार्टीलाई चौतर्फी घेराबन्दीबाट जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद प्रकट गरेको छ । धन्यवाद ज्ञापन गर्दै पार्टी कमिटीलाई अझै चुस्त र व्यवस्थित बनाउने तथा भ्रममा परेर पार्टी छाडेका कार्यकर्तालाई पुनः एमालेमा फर्काउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पालिका कमिटी अध्यक्ष शशिनाथ आचार्यको ममतामयी माता खिलकुमारी आचार्य र ३ नं वडा कमिटी सदस्य राजु बानियाँका छोरा प्रकाश बानियाँको अल्पायुमा भएको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि शेरबहादुर तामाङले एमालेका कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा बताउनुभयो । उहाँले समसामयिक राष्ट्रिय राजनीतिका विषयलाई प्रकाश पार्नुभएको थियो । 

त्यस्तै एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले इन्द्रावती गाउँपालिकाले गरेका विकास निर्माणका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले स्थानीय सरकारले गरेको काम कारबाहीका सकारात्मक पक्षबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । 

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : ५५ बजे