आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

काठमाडौँ । आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ । 

यो वर्ष पनि काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्ययतामा २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो । तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिवार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो । 

 

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : २३ बजे