आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

दमक । दमक–६ स्थित नमुना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।

आगलागीबाट जुत्ता चप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । 

आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : १० बजे