धनकुटाको सिंधुवा बजारमा भएको आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति

धनकुटा । गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको आगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । 

स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । 

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्ण रूपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।

आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली  उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो ।

पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । 

बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालीगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।रासस

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४७ बजे