प्रदेश १ मा उपसभामुखको निर्वाचन आज, एमालेबाट दनुवार र काँग्रेसबाट राई प्रतिस्पर्धामा

काठमाडौँ । प्रदेश १ मा उपसभामुखको निर्वाचन आज हुने भएको छ ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ः०० बजेपछि प्रदेशसभा बैठक बस्दै छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुन्छ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । 

सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 

एमालेबाट उपसभामुखमा उदयपुरबाट समानुपातिक सांसद ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दिनुभएको छ भने प्रतिपक्षी दल काँग्रेसले पनि उदयपुरकै समानुपातिक सांसद ६२ वर्षीया लिलाकुमारी राईलाई उम्मेदवार बनाएको छ ।

एमालेकी दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ हुनुहुन्छ भने राईको प्रस्तावकमा काँग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी)की विद्या चाम्लिङ राई समर्थक हुनुहुन्छ ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने छ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक/फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।  

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ३७ बजे