भक्तपुरका अधिकांश फलफूल पसलहरूले गरेनन् नवीकरण

भक्तपुर । भक्तपुरका अधिकांश फलफूल पसलेहरूले पसल नवीकरण नगरेको भेटिएको छ । 

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरूमा बिहीबार अनुगमन गर्दा यस्तो भेटिएको हो । 

समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफूललगायत ६ वटा पसलहरूको अनुगमन गरेको थियो ।

अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्य सूचि राख्नुपर्ने र लेबल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेबल नभएकोले जफत गरी नष्ट गरियो । 

त्यस्तै, राजेश पानी पुरी विगत दुई तीन वर्ष अगाडिदेखि बिना दर्ता सञ्चालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्य सूचि राख्न निर्देशन दियो । 

सुष्मा फ्रुट शप विगत चार वर्षदेखि नवीकरण नभएकोले त्यहीँ नवीकरण गराएर कुहेको र बिग्रेको फलफूलहरू नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । 

त्यस्तै, इजी मल्टी स्टोर नवीकरण गर्न, म्याद नाघेको सामानहरू आसियन ड्राई फुड ९ पाकेट, लेबल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो । 

ए.के. किराना एण्ड भेज सप्लायर्समा मूल्य सूचि राख्न, प्याकेजिङ्ग सामानमा लेबल राखेर मात्र विक्री वितरण गर्न र म्याद नाघेको मसला पाकेटहरू १७ पाकेट जफत गरी नष्ट गरियो । 

त्यस्तै पटिन लिङ्कन स्टोरमा मूल्य सूचि राख्न, म्याद नाघेको प्लेटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर बिस्कुट १ पाकेट, बटर डिलाइट बिस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशङ्कर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रसन्न विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग वाणिज्य सङ्घका राजु त्वानाबासु सहभागी हुनुहुन्थ्यो । 

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ४४ बजे