थुनामुक्त भएपछि सन्दिप लामिछानेले भने : अब छिट्टै क्रिकेट मैदान फर्किन्छु

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले अब आफु छिट्टै क्रिकेट मैदानमा फर्कने बताएका छन् । नाबालिगमाथि बलात्कार आरोपित लामिछाने २० लाख धरौटी तिरेर आज थुनामुक्त भएका छन् । थुनामुक्त भएपछि पत्रकारसंगको कुराकानिमा उनले भने ‘ म छिट्टै क्रिकेट मैदान फर्किन्छु, एकदमै राम्रोसँग फर्कन्छु।’ साथै सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने समेत बताएका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइनेछ। उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।

आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ। आज बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।

यो मुद्दाको किनारा भने लागिसकेको छैन। अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : २३ बजे