सुनको मूल्यमा नयाँ कीर्तिमान

पाठेघर सम्बन्धी समस्या लुकाएर बस्दै मुगुका महिला 

सुर्खेत । उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरूमा पाठेघर खस्ने समस्या देखिएको छ । 

सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो । 

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ  । 

सदरमुकाम रहेको पालिकाभित्र पाठेघर धेरै समस्या भएका महिलाहरूको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ सङ्ख्या भारी भएको अनुमान लगाएको छ । 

स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरुले गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताउनुभयो । 

पाठेघर खसेका वा समस्यामा परेका महिलाहरूले सेवा लिनका लागि लाज मान्ने, नखुल्ने भएका कारण वषौँदेखि समस्या लुकाएर बसिरहेको उहाँले बताउनुभयो । सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिनुभएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ ।  

खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको सङ्ख्या धेरै भए पनि पीडित खुल्न नसकेको बताइएको छ ।  

डा.मीना हमाल (चौलागाईं)ले उमेर नपुग्दै बिहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरूमा समस्या देखिएको बताउनुभयो । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्या लुकाएर बस्न बाध्य भएको उहाँको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उहाँको भनाइ छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ३१ बजे