डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गण्डकी प्रदेशमा पनि काँग्रेसले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन्छ ?

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार विश्वासको मत लिनुभएको छ  । अप्रत्याशित रूपमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उहाँको पक्षमा मतदान गर्‍यो ।

काँग्रेसका ८९ मध्ये ८६ सांसदले विश्वासको मत दिनुभयो। ३ सांसद संसद्मै उपस्थित हुनुभएको थिएन । निर्वाचनको बेला काँग्रेससँगको गठबन्धन भए पनि सरकार बन्दा काँग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भयो । 

माओवादीले साथ छोडेका कारण केन्द्रदेखि सात वटै प्रदेशबाट काँग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि काँग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

मुख्यमन्त्री अधिकारीले काँग्रेससँग समेत विश्वासको मत माग्ने बताउनुभएको छ । “प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । काँग्रेससँग पनि आग्रह गर्छु” उहाँले भन्नुभयो, “सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।” 

काँग्रेसले भने शुक्रवार नै विश्वासको मत दिने वा नदिने निर्णय गर्ने बताएको छ । काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बिहान बैठक बसेर निर्णयमा पुग्ने बताउनुभयो। “त्यसै दिन बिहान ९ः०० बजे दलको बैठक छ । बैठकमा साथीहरूको समेत राय लिएर मत दिने वा नदिने निर्णयमा पुग्छौँ” उहाँले भन्नुभयो, यो व्यक्तिको भन्दा पनि पोलिटिकल इस्यू हो । दलले गर्ने निर्णय हो ।” 

काँग्रेसका केही सांसदहरूले भने कुनै हालतमा विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।

 

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १२ : ०४ बजे