प्रभु र सेञ्चुरी बैङ्कको एकीकृत कारोबार सुरु

काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी मङ्गलवारदेखि प्रभु बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारपछि प्रभु बैङ्कको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु २२ अर्ब, कूल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कूल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । 

त्यस्तै, ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैङ्कले जनाएको छ ।

एकीकृत कारोबार सुरु भएसँगै साबिक सेञ्चुरी कमर्सियल बैङ्कमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैङ्कले जनाएको छ ।

     

नियामक निकाय नेपाल राष्ट्र बैङ्कले लिएको नीतिअनुसार पछिल्लो समय बैङ्क तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुस महिनामा मात्र आठ वटा वाणिज्य बैङ्क एक आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चार वटा कायम भएका छन्  ।

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु एकापसमा गाभिएर  ‘ग्लोबल आइएमई बैङ्क लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । 

त्यस्तै, कुमारी बैङ्क र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्क एकापसमा गाभिएर  ‘कुमारी बैङ्क लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

मेगा बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्क एकापसमा गाभिएर भोलि बुधवारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् । 

त्यस्तै, हिमालयन बैङ्कले सिभिल बैङ्क लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैङ्कले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएका छन् । 

आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैङ्कको तयारी छ । त्यस्तै, लक्ष्मी बैङ्क र सनराइज बैङ्कले पनि एकापसमा मर्जरमा जाने समझदारी गरिसकेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ५४ बजे