कांग्रेस नौटङ्की हैन जिम्मेवार बन  

भागबन्डामा हिसाब मिलाउन नसकेर आफ्नो सम्पूर्ण सत्ता गुमाएको मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस यत्तिखेर संसद्लाई प्रतिपक्षविहीन बनाउने खेलमा लागेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेभन्दै कांग्रेस यत्तिखेर गैर राजनीतिक खेलमा लागेको हो । 
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत पाउने निश्चित प्रायः भइसक्दा मुलुकको सबैभन्दा ठुलो दल प्रतिपक्षीको भूमिकामा बस्न नचाहनु आफैमा हास्यास्पद छ । 

प्रमुख प्रतिपक्ष संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा सत्तारुढ दलपछिको ठूलो दल हो । संसदीय प्रणाली अवलम्बन गरेका मुलुकमा प्रमुख प्रतिपक्ष  प्रतीक्षारत सरकार पनि हो ।

शासक स्वेच्छाचारी हुँदा, संविधानका मर्यादा विपरीत जाँदा उसलाई सांसदभित्रबाट या बाहिर सडकबाट नङ्ग्याउने, जबाफदेही बनाउने या परी आउँदा संसदीय र संवैधानिक प्रक्रियाबाट सत्ताच्यूत गर्ने दायित्व प्रमुख प्रतिपक्षकै हो  । अत: बहुदलीय लोकतन्त्रमा प्रतिपक्ष शासक या सत्ताधारी पक्ष भन्दा बढ्ता जनउत्तरदायी मानिने गर्दछ । 

हो संसदीय व्यवस्थामा प्रतिपक्ष भनेको केबल प्राविधिक कुरा मात्रै होइन, राजनीतिक कुरा पनि हो । संसदीय अभ्यासको पूर्णता विपक्षी दलको अर्थपूर्ण सहभागिता र योगदानमा निर्भर गर्दछ । संसदीय लोकतन्त्रमा प्रतिपक्ष विनाको संसद्को परिकल्पना नै गरिँदैन । 

प्रतिस्पर्धी बहुदलीय राजनीतिमा सत्तामा रहेको दलले नीति, योजना र कार्यक्रमहरू आफ्नो दलको चुनावी घोषणापत्रमा आधारित भई तर्जुमा र कार्यान्वयन गर्ने अवसर प्राप्त गर्दछन् । तर विपक्षी दलहरू सरकारका नीति, कार्यक्रम, योजना आदिका बारेमा खुला आलोचना गर्न स्वतन्त्र हुन्छन् । 

हो सङ्ख्यात्मक हिसाबले प्रतिपक्ष कमजोर होला तर  सरकारको स्वच्छ्याचारीता, गलत कदम विरुद्ध आवाज उठाएर  सदनलाई जीवन्तता प्रदान गर्ने काम प्रतिपक्षले मात्र गर्न गर्दछ । सरकारले गलत गरेमा वा जनताप्रति सरकार बफादार नभएमा, सरकार भ्रष्टाचारमा लिप्त भएका वा निर्वाचनको सन्दर्भमा गरेका प्रतिबद्धताबाट सरकार च्युत भएमा हदसम्मको दबाब सिर्जना गर्ने, मुलुकलाई सुशासनको बाटोमा हिँडाउने दायित्व प्रतिपक्षमा रहेका दलको काँधमा हुने गर्दछ । अझ प्रतिपक्षी दलले सरकार बाहिर रहेको समयको सदुपयोग गर्दै सीमान्तकृत, कमजोर, पछि परेका मतदाताहरूसँग सम्पर्क गरी उनीहरुलाई अधिकार दिलाउन पहलकदमी समेत सक्तछ । 

मुलुकको सबैभन्दा ठुलो दल काँग्रेसले उक्त दायित्व भुल्नु वा वहन गर्न खुट्टा कमाउनु भनेका संसदीय व्यवस्थाको उपहास मात्र हैन काँग्रेसमा संसदीय आचरण पनि बाँकी नरहनु  हो । 

केबल राष्ट्रपतिपति या उपराष्ट्रपति एक पदको बाग्रेनिङका लागि कांग्रेसले प्रचण्डसँग विश्वासको मत साट्न खोज्नु भनेको काँग्रेसले पाएको जिम्मेवार प्रतिपक्षीको उक्त अवसर गुमाउनु हो । यो उसको  अवसरवादी र गैर राजनीतिक चरित्र उदाङ्गो हुनु हो  । आफूलाई लोकतन्त्रको हिमायती भन्ने काग्रेंसले आफ्नो भूमिका नभुलोस् । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३९ बजे