डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गण्डकीमा आज नयाँ सरकार गठन हुँदै , एमालेका खगराज अधिकारी मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । मंसिर ४ को निर्वाचनपछि नयाँ सरकार बन्न लागेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।

उहाँले दिनुभएको समय सीमा आज अपराह्न ४ः०० बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरू बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । 

एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भइसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दाबी पेस गर्न जाने गाहाले बताउनुभयो । आइतबार नै दाबी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको थियो  । 

 गण्डकीमा काँग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर सङ्कलन गरिएको उहाँले बताउनुभयो । पहिलो दल काङ्ग्रेससँग २७ सिट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे)पनि प्रतिपक्षमा हुने छन् । 

गण्डकीमा एमाले संसदीय दलका नेता  खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आइतबार  बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच गण्डकी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने निश्चित भएसँगै अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । 

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा कास्की १ बाट निर्वाचित भएर सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो । 

विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । 

राजनीतिक मुद्दामा पटक पटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो । 

उहाँ पार्टीको सचेतक, पोलिटब्युरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा कालमा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो । 

मुख्यमन्त्रीमा दाबी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भइसक्ने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : ४२ बजे