डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सत्ता साझेदार दलको बैठक : दलहरूसँग विश्वासको मत माग्ने निर्णय

काठमाडौँ । सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने समेत निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

बैठकमा सत्ता साझेदार दलहरूबिच सङ्घीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो । सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागिता रहेको थियो । 

माओवादी, राप्रपा र जसपाका सांसदहरूले समर्थनमा आइतबार नै प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । 

प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनुहुनेछ । 

आजको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले यही मङ्गलवार विश्वासको मत लिनुहुने छ । 

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : १६ बजे