साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अलमलमा माधव नेपाल

गन्तव्य भुलेर दोबाटोमा अलमलिएको बटुवा झैँ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यति बेला अलमलमा परेका छन् । उनको यो अलमल पार्टी हितलाई स्वार्थमा राखेर हो कि, पार्टी भित्रका व्यक्तिका स्वार्थको कारण हो, त्यो बुझ्न सकिएको छैन । यद्यपि उनले अनुहार हरेर राजनीतिक निर्णय नहुने भन्दै आएका छन् र, नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनको सरकारलाई अहिले नै किन समर्थन गर्नुपर्‍यो समय आएपछि गरुँला नि ! पनि भनेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा निर्माण भएको सरकारलाई समर्थन गर्न वा विरोध गर्ने छुट एकीकृत समाजवादी पार्टीलाई नै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफूले अपेक्षा गरेभन्दा कम जनमत पाएपछि तिल्मिलाएका अध्यक्ष नेपाल अब कुन बाटो समातेर कता जाने हो भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् ।

यद्यपि सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णयकै कारण समाजवादी पार्टीको भविष्य निर्धारण हुने भएकाले पनि यो चासोको विषय बन्न पुगेको हो । काँग्रेसको नेतृत्वको गठबन्धनमा नेपालका नजिकका पार्टनर रहेका थिए , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तीनै प्रचण्डको साथ लागेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्वमा पुर्‍याउन भूमिका खेलेका थिए नेता नेपालले । तर, अहिले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन टुटेसँगै प्रचण्ड प्रधानमन्त्री बनेका छन् । फेरिएको राजनीतिक घटनाक्रमसँगै प्रचण्ड र नेपालको राजनीतिक दूरी बढ्दै गएको छ ।  

त्यसो त एमाले देखाइदिने उद्घोषका साथ काँग्रेस र माओवादीसँग गठबन्धन गर्दै  नेता नेपाल निर्वाचनमा होमिएका थिए । उनले जिते पनि,  उनको पार्टीले भने थ्रेसहोल्ड समेत कटाउन नसक्दा राष्ट्रिय पार्टी समेत बन्न सकेन । राजनीतिको धरातलीय यथार्थतालाई भन्दा आफ्नो व्यक्तिगत कुण्ठा र ईष्यालाई एजेन्डा बनाउँदै आएका कारण पनि उनको पार्टीले कुन बाटो समातेर कता जाने भन्ने कुराको टुङ्गोमा पुग्न सकेको छैन । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा र सरकारबारे धारणा बनाउन लामो समयदेखि निरन्तर पार्टीको बैठक बस्दै आएको भए पनि उनको पार्टीले अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सकेको छैन । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा निर्माण भएको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा बसेको उनको पार्टीको बैठकले उल्टै वार्ता टोली गठन गरेपछि अन्यौलता थपिएको छ । सो वार्ता टोली प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग पुर्‍याउन हो कि, अप्ठ्यारोमा पार्न गठन भएको हो बुझ्न सकिएको छैन । 

बालुवाटारबाट बालकोट जाँदै गर्दा प्रचण्डले एक बचन बालकोट जाऊ भनेर नसोधेका कारण पनि उनको प्रचण्डसँग हिजोआज मन दुखिरहेको गनगन सुनिन थालेको छ । सम्भवतः, त्यही कारणले पनि प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन बोलाइरहँदा उनले सरकारमा सहभागी हुने कुरा गोलमोटल गर्दै आएका छन् ।  उता, प्रचण्डले नेता नेपाललाई भेटेरै सरकारलाई समर्थन गर्न बारम्बार अनुनय –विनय गर्दै आएका छन् । तर, उनले अझै पनि प्रचण्डलाई स्पष्ट जवाफ नदिएर गम खाइरहेका छन् । 

सरकारलाई समर्थन गर्न हामीलाई कुनै हतारो छैन, भन्दै आफ्नो भाउ कसरी बढाउन सकिन्छ भनेर यताउति कुदिरहेका छन् अध्यक्ष नेपाल । त्यसो त त उनको पार्टी एकीकृत समाजवादीमा सुनिन्छ कुनै पनि विषयमा एक लाइन छैन । सरकारलाई समर्थन गर्ने कुरामा मात्रै होइन, पार्टीले समात्ने विचारको धाराको विषयमा पनि  समेत फरक–फरक धार देखिँदै आएको छ  । समाजवादीका नेताहरू भन्छन् माधव नेपालले जुन कुरा राख्छन्, त्यसको ठिक विपरीत सम्मानित नेता झलनाथ खनालले राख्दै आउने गरेका कारण पनि पार्टीमा कुनै पनि विषयमा निर्णय लिनु पर्दा गाह्रो पर्ने गरेको सुनाउँछन् ।  

अहिले पनि सरकार र पार्टी एकताको विषयमा समाजवादी पार्टीभित्र तीन धार रहेको सुनिँदै आएको छ । सो पार्टीभित्र एमाले, माओवादी, स्वतन्त्र पार्टी, जसपा सहित सात दलको समीकरण बनेपछि वामपन्थी दलबीच एकता हुनुपर्ने, सरकारमा जानुपर्ने र गठबन्धन कसरी बन्छ ,त्यसलाई पर्खिने र हेर्ने गरेर तीन प्रकारको धारणा रहेको छ भन्ने सुनिँदै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १२ बजे