‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

२५ हजार राशीको विष्णुभक्त रङ्गकर्मी सम्मान रामचन्द्र अधिकारीलाई 

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार राशीको विष्णुभक्त रङ्गकर्मी सम्मान यस पटक वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । 

विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभामा कलाकार रामचन्द्र अधिकारीलाई सो सम्मान गरिएको हो । 

२०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले तयार गरेको नाटक यज्ञवल्क्यका राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुयाँलको निधन भएको थियो । 

नाटकमा अभिनय गर्दा गर्दै मञ्चमा नै निधन हुनुभएका कलाकार विष्णु भक्त फुयाँल विश्व कै इतिहासमा पहिलो कलाकार रहनुभएको छ । त्यसअघि अभिनय गर्दा गर्दै संवाद दिने क्रममा नै कुनै पनि कलाकारको निधन भएको भेटिँदैन ।

करिब ४ दशकभन्दा बढी समय नेपाली रङ्गमञ्चमा बिताउनुभएका कलाकार फुयाँलको स्मृतिमा हरेक वर्ष वरिष्ठ कलाकारहरूलाई सम्मान गरिँदै आइरहेको छ । सोही क्रममा चार दशकदेखि नेपाली नाट्य एवं चलचित्र क्षेत्रमा क्रियाशील रहनु भएका कलाकार रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो ।

कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले यस वर्षको पुरस्कारका लागि अधिकारीलाई चयन गरेको थियो ।  यस अघि सो सम्मानबाट राजेन्द्र गड्तौला, रमेश केसी मट्टारे, लक्ष्मण सिंह बस्नेत, पल्पसा डङ्गोल सम्मानित भइसक्नु भएको छ । 

हरेक वर्ष पुस १९ गते फुयाँलको निधनकै दिन स्मृति सभा आयोजना गरी पुरस्कार दिँदै आएको छ ।

कार्यक्रममा फुयाँलकी धर्मपत्नी तारा फुयाँलको नाममा स्थापित तारादेवी नारी प्रतिभा पुरस्कार मेनुका कटवाललाई प्रदान गरिएको छ । 

सम्मान कार्यक्रममा गुठीका संरक्षक एवं फुयाँल छोरा विमल फुयाँलले आफ्नो बुवाले कलाकारिता क्षेत्रका माध्यमबाट श्रमको सम्मान गर्न सिकाएको बताउनुभयो । उहाँले श्रमको सम्मान गर्नका लागि आफूहरू बुवाको आदर्शलाई निरन्तर अगाडि बढाउँदै जाने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा सम्मानित हुनुभएका कलाकार रामचन्द्र अधिकारीले विष्णुभक्त फुयाँलले आफूलाई चलचित्र बलिदानदेखि अन्य समयमा पनि अभिभावकत्व प्रदान गर्नु भएको स्मरण गर्दै र आफू अन्यायमा पर्दा सधैँ अन्यायका विरुद्ध लड्न प्रेरित गर्नु भएको बताउनुभयो । 

त्यस्तै तारादेवी नारी प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकी मेनुका कटवालले आफूले अघिल्लो वर्ष गुठीबाट छात्रवृत्ति नपाएको भए पढाई नै छाड्नुपर्ने अवस्था भएको बताउनुहुँदै गुठीकै कारण शिक्षालाई अगाडि बढाउनु सफल भएको बताउनुभयो । 

कार्यक्रममा विष्णुभक्त फुयाँलको नाट्य क्षेत्रको जीवनी, व्यक्तित्व र कृतिका विषयमा सोध कार्य गरिरहनु भएका सोधकर्ता लेखनाथ खनालले बाहिर नआएका तर अनुसन्धानमा फेला परेका कलाकारिता क्षेत्रमा योगदानका विषयमा चर्चा गर्नुभएको थियो । 

स्मृति सभामा स्वर्गीय कलाकारद्वारा रचित गीतसहित साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १० बजे