नेपाल टी–२० : जनकपुरले हरायो शीर्ष स्थानको लुम्बिनीलाई

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० लिगको  शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र जोडेको थियो । 

लुम्बिनीका अनिल साहले ३५, लहिरु मिलन्थाले ३२, सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे भने जनकपुरका ट्रिभोन ग्रिफिथले ३, समिउल्लाह सिन्वारीले २ र ललित राजवंशीले १ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

जनकपुरका लागि ग्रिफिथले ४७, सरफुद्दिन अस्रफले ३४, खड्क बोहराले २२, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रन जोडे । 

लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ र इसान पाण्डे र प्याट ब्रोनले एक÷एक विकेट लिए ।

जनकपुरसँग पराजित भए पनि लुम्बिनी लिगको शीर्ष स्थानमै छ ।
 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १ : १५ बजे