डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफा डाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफा डाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफा डाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्व र जडीबुटीका हिसाबले पनि गुफा डाँडा भू स्वर्गजस्तै छ ।

प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरी खर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात् पर्यटकीय गन्तव्यको विकाससँगै गुफा डाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताउनुभयो । 

चौताराबाट आउनुभएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउनुहुन्छ । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफा डाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताउनुभयो । 

विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफा डाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफा डाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउनुहुन्छ ।

पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खा याममा सकस हुने गरेको छ । यहाँ होटल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोज स्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ ।  रासस

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : १७ बजे