डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । 

बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लाल किशोर साहले बताउनुभयो ।आज संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता उहाँले  बताउनुभयो । 

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लाल किशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । उहाँले समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जानकारी दिनुभयो ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् । 

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र आज नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : २१ बजे