राष्ट्रपति भवनमा घटस्थापना

राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो।

बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाउनु भएको थियो । बुधबार भएको छलफल अनुसार, बिहीबार पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो । त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरूसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो।

भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण हजारौं नेपालीले समस्या झेल्नु परेकोले सम्झौता अनुरुप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : ०० बजे