सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालगन्जमा दादुराको महामारी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा समुदाय स्तरमै फैलिएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–६ र ७ फुल्टेक्रामा एकै घरका चार÷चार बालबालिकामा दादुरा देखिएको थियो । एकै परिवारमा ठुलो सङ्ख्यामा बालबालिकामा दादुरा पुष्टि भएपछि समुदाय स्तरमै दादुरा फैलिएको आशङ्कामा नेपालगन्ज उपमहानगरपालिकाले चेकजाँच सुरु गरेको छ  । 

नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा दादुरा प्रकोपकै रूपमा फैलिएको देखिएको महाशाखा प्रमुख चन्दले बताउनुभयो । बुधवार मात्र वडा नम्बर ५, ७ र ८ मा आयोजित शिविरमा ७० जनाको स्क्रिनिङ गरिएकोमा थप ८ जनामा दादुरा देखिएको छ भने बुधवार मात्रै वडा नम्बर ५ का दादुरा सङ्क्रमित अढाई वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख चन्दले जानकारी दिनुभयो ।

समुदाय स्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि उहाँले बताउनुभयो  ।  

दादुरा श्वासप्रश्वासका माध्यमबाट तीव्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगन्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेका छन् । दादुरा देखिएका वडामा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको छ ।  

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : ११ बजे