भकुण्डेवशी । नमोबुद्ध नगरपालिका –३, दाहाल चौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ ।
उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् ।
यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ ।
नगरपालिकामा सञ्चालित जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ ।
१५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने छन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ कुल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ ।
प्रति च्याम्बर ३० मेट्रिक टनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिनुभयो ।
शीत भण्डार (कोल्ड स्टोर)को शिलान्यास गर्नुहुँदै नगरप्रमुख कुन्साङ लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताउनुभयो ।
पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो ।
नमोबुद्ध नगरपालिका –३ दाहाल चौरका सीता दाहालले शीत भण्डार सुरु गरिएकोमा निकै खुसी व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : २० पुस २०७९, बुधबार ९ : ४२ बजे
प्रतिक्रिया