‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पत्रकार महासङ्घको धुलिखेल घोषणापत्र जारी

बनेपा  । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशअन्तर्गतका जिल्ला शाखाको समन्वयमा प्रकाशित ‘महासङ्घमा हामी’ नामक पुस्तक विमोचन कार्यक्रमको अवसर पारेर आज ११ बुँदे धुलिखेल घोषणापत्र जारी गरिएको छ ।

दश जिल्लाका अध्यक्षहरुको भेलाले सो घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा श्रमजीवी पत्रकारको हकहितका लागि क्रियाशील पत्रकार महासङ्घलाई व्यावसायिक पत्रकारको छाता सङ्गठनको रुपमा विकास गर्दै आम पत्रकारको व्यावसायिक सुरक्षामा निरन्तर लागिरहन केन्द्रीय र प्रदेश समितिलाई भेला आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणपछि बन्दाबन्दी र अन्य कारण देखाउँदै कामबाट हटाइएका श्रमजीवी पत्रकारलाई पुर्नरवहाली, पारिश्रमिक दिनेलगायतका काम अझै हुन नसकेको कुराप्रति गम्भीर ध्यानाकर्षण गर्दै पेशाबाट हटाइएका पत्रकारलाई पुनरवहाली गर्न र दिन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहसँग माग गरिएको छ ।

यसैगरी श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका सेवासुविधा कतिपय सञ्चार गृहहरुले अझै पनि कार्यान्वयन गरेको कारण न्यूनतम पारिश्रमिक, बीमालगायत श्रमजीवी पत्रकारले पाउनुपर्ने सेवा सुविधा तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित पक्षसँग माग गर्ने निर्णय गरिएको छ ।

श्रमजीवी पत्रकार आफैँले सञ्चालन गरेका सञ्चार माध्यमलाई व्यवस्थित बनाउन र सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयस्तरका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिनुपर्ने नीति ल्याउन नेपाल सरकारद्धारा गठित विज्ञापन बोर्डसँग जोडदार माग गर्ने कुरालाई उठाइएको छ ।

 त्यस्तै समाचार लेखेकै कारण सञ्चारकर्मीमाथि हुने आक्रमण, धम्कीलगायतका घटनामा अझै कमी नआएको कारण यस्ता घटनामा पीडित सञ्चारकर्मीलाई राहत दिन तथा घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । घोषणापत्रमा सूचनाको हकसम्बन्धी कानून र नियमावली आएको लामो समय भए पनि अझै सूचनामा आम नागरिकको पहुँच पुग्न नसकेको अवस्थामा सूचनाको हकले प्रदान गरेको अधिकार सहज रुपमा उपलब्ध गराउने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्ने गरी प्रेससँग सम्बन्धित नीति तथा कानून निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको छ । 

यसैगरी पत्रकारलाई सहुलियतमा उपचार गर्ने घोषण सरकारले गरेको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन नसकेको वर्तमान अवस्थामा उक्त पत्रकार उपचार सहुलियत कार्यक्रम तत्कालदेखि लागू गर्न माग, सरकारले सूचना तथा सञ्चार विभागबाट हुने रातो कार्ड वितरण अनलाइन दर्ता तथा नवीकारण जिल्ला हुलाक कार्यालयमार्फत हुने भनि अख्तियारी दिइए पनि अधिकांश जिल्लामा हालसम्म पनि त्यसको शुरुवात हुन नसकेकोले तत्काल शुरु गर्न माग गरिएको छ ।

प्रत्येक पुस मसान्तसम्म नवीकरण नगरे अनलाइन दर्ता प्रमाणपत्र खारेजी हुने व्यवस्था हटाई जरिवाना तिरेर नवीकरण गर्ने व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्ने, पत्रकारको लेखनवृित्त, क्षमता अभिवृद्धि, तथा स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममार्फत उपलब्ध गराउन आग्रह गर्नुका साथै ऐतिहासिक एवं पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने कुरालाई घोषणा पत्रमा जोडदारका साथ उठाएको छ ।

‘महासङ्घमा हामी’ पुस्तक सार्वजनिक
नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका दश जिल्लाका अध्यक्षको साझा प्रयासमा ‘महासङ्घमा हामी’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र महासङ्घका महासचिव रमेश विष्टलगायतले काभ्रेपलाञ्चोकको धुलिखेलमा सो पुस्तक विमोचन गर्नुभएको हो । 

कार्यक्रममा बोल्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भनेर घोषणा गरेपछि पहिलो पटक निर्वाचनमा जाने भएकाले त्यसलाई व्यवस्थित गर्न सबै पत्रकारले सहयोग गर्न आग्रह गर्नुभएको छ । महासङ्घलाई थप व्यवस्थित बनाउने समावेशी कोटालाई परिस्कृत गर्न सफल भएको उहाँले बताउनुभयो । 

त्यससँगै प्रेस स्वतन्त्रता, मिडियाको हित, नागरिक अधिकार, मानवअधिकार कानूनी राजको विषयमा निरन्तर आवाज उठाइरहन आवश्यक भएकाले महासङ्घलाई एकपक्ष वा अर्को पक्षमा भन्दा पनि साझा ढङ्गले काम गर्नको लागि पहल गर्नसक्ने, विकास गर्नका साथै महासङ्घलाई अझ बलियो बनाउन अब हुन लागेको निर्वाचनमा महासङ्घलाई राम्रोसँग बुझ्नेखालकालाई जिम्मा दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

महासङ्घलाई यो वा उ भन्दा पनि महासङ्घको साझा चरित्र, गरिमा जोगाउने र यसलाई अघि बढाउने, उद्देश्यमा क्रियाशील रहने खालको व्यक्तिलाई छान्न उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । महासङ्घमा भएका सदस्यलाई पनि जिल्लामा सार्वजनिक सुनुवाइ गरेरै सदस्य नवीकरण गर्न यी व्यक्ति पत्रकार क्रियाशील छन् कि छैनन् भनेर छुट्याउन जिल्ला शाखालाई पत्र नै पठाइसकेको बताउनुभयो । क्रियाशीलता छुट्याउन ३५ जिल्लामा सार्वजनिक सुनुवाइ नै गरिसकेको बताउनुहुँदै उहाँले पत्रकारले कति ठीक र कति बेठीक गरे भन्ने कामको बारेमासमेत शुरुवात गरेको बताउनुभयो । 

महासङ्घको पहल तथा पत्रकार सम्बद्ध विभिन्न सङ्घ, सङ्गठनको सहयोगमा करीब १४ वटा मिडिया हाउसमा कार्यरत पत्रकारको समस्या महासङ्घको पहलमा समाधान गर्नसकेको अध्यक्ष आचार्यले बताउनुभयो ।

त्यस्तै महासङ्घका अहिलेका समितिले औद्योगिक ऐन संशोधन गरेर त्यसको अनुसूचीमा मिडिया उद्योगलाई राष्ट्रिय सेवामूलक उद्योग बनाउन सफल भएको, २०१५ सालदेखि उठेको मुद्दा विज्ञापन ऐनमा समानुपातिक विज्ञापन बाँड्ने ऐनमा नै व्यवस्था गर्न सफल हुनु, पत्रकारको कल्याण कोष स्थापनामा सफलतालगायतका राम्रो काम गर्न सफल भएको उहाँको भनाइ छ । 

सो क्रममा उहाँले अहिलेसम्ममा पत्रकार महासङ्घको सदस्यता लिएकामध्ये प्रहरीमा कार्यरत २३ जना हटाएको, १४३ जना निजामती कर्मचारीलाई महासङ्घको सदस्यताबाट हटाएको र करीब १५० जना जननिर्वाचित भएका पत्रकार महासङ्घको सदस्यबाट हटेको बताउनुभयो । 

अझै केही जननिर्वाचित प्रतिनिधि नहटेको उल्लेख गर्नुहुँदै केन्द्रले गरेको निर्देशन अनुसार जिल्ला र प्रदेशबाट त्यस खालको व्यक्तिलाई पनि सदस्यबाट हटाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपाल पत्रकार महासङ्घको नेतृत्वले संस्थापनदेखि अहिलेसम्मको अध्यक्षले आफ्नो कार्यकालमा के काम गर्‍यो भनेर अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो । प्रज्ञा, शक्ति र एकता आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिन उहाँले महासङ्घ नेतृत्वलाई आग्रह गर्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले महासङ्घले दस्तावेज निर्माण गर्ने क्रममा कमजोरी रहेको उल्लेख गर्नुहुँदै वाग्मती प्रदेशका दश जिल्लाका अध्यक्षले तयार गरेको पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । महासङ्घमा कामी पुस्तकले सिङ्गो महासङ्घलाई दस्तावेजीकरण गर्न पे्ररित गर्ने भएकाले महासङ्घका अध्यक्षले गरेको कामले सबै शाखालाई उत्प्रेरित गर्ने उहाँले बताउनुभयो । 

सो क्रममा उहाँले श्रमको अभ्यासलाई सशक्त ढङ्गले अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै जिल्ला, प्रदेश र केन्द्रमा श्रम डेस्कको स्थापना गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कुन जिल्लाको कुन ठाउँमा श्रम अधिकार प्राप्त गर्ने सवालमा के भइरहेको छ भन्ने जानकारी लिनको लागि सो डेस्कले भूमिका खेल्ने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, कृष्ण गिरी, द्वारिका काफ्ले र वाग्मती प्रदेश उपाध्यक्ष यदुनाथ गौतमले आ–आफ्नो धारणा राख्नुभएको छ ।

वाग्मती प्रदेशका दश जिल्लाका महासङ्घ अध्यक्षले जिल्लाको अवस्थिति, इतिहास, र त्यसभित्रको पत्रकारिताको अवस्था कस्तो छ भन्ने कुरालाई समेटेर ‘महासङ्घमा हामी’ नामक पुस्तक प्रकाशनमा ल्याएको नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनुभयो । रासस

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २७ बजे