साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट शुरु भएको एमालेका नेताहरूको विवाद अझै मथ्थर भएको छैन । एकातिर एमाले ब्युँतिए लगत्तै बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई चुस्त दुरुस्त बनाउन केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी आउँदो मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरि पार्टी संगठन निर्माण र पुनर्व्यवस्थापनलाई तीव्रता दिएको छ भने अर्कातिर एमालेको साधारण सदस्यता समेत नरहने गरी निलम्बनमा रहेका नेता माधव नेपाललगायतका केही नेताले एमालेकै झण्डा,लोगो र चुनाव चिन्ह प्रयोग गरी समानान्तर कमिटीहरुको घोषणा गरिरहेका छन् । यसले एमालेको राजनीतिमात्र होइन, राष्ट्रिय राजनीति समेत प्रभावित हुदै आएको छ ।
१.विवादको चरित्र
साविक नेकपामै विवाद उत्कर्षमा पुगेको थियो । नेकपा सचिवालयमा रहेका तीन पूर्व प्रधानमन्त्रीहरू(झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष लिने आन्तरिक सहमतिमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जेहाद नै छेडेका थिए । ओलीविरुद्ध प्रचण्डले तयार पारेको १९ पृष्ठ लामो आरोपको पुलिन्दा यसैको अभिव्यक्त रुप थियो ।
कम्युनिष्ट पार्टीमा दुई लाईन संघर्ष निरन्तर चलिरहन्छ भनिन्छ । कम्युनिष्ट पार्टीमा चल्ने दुई लाईन संघर्षलाई विभिन्न ढंगले व्याख्या गरिएको पाईन्छ । कम्युनिष्ट पार्टीलाई विपरीतहरूको एकत्व बताउने माओले पहिलो पटक दुई लाईन संघर्षको व्याख्या गरेको हुनाले माओवादी पार्टीले दुई लाईन संघर्षको दुहाई दिईरहन्छन् । माओको व्याख्यालाई आधार बनाएर चिनियाँ कम्युनिष्ट पार्टीको पाठ्यपुस्तकमा लेखिएको छ (समाजमा विद्यमान वर्ग संघर्षको प्रतिविम्व कम्युनिष्ट पार्टीभित्र पर्नु अवश्यम्भावी छ । यसको केन्द्रीकृत अभिव्यक्तिको रुपमा पार्टीभित्र दुई लाईन संघर्ष हुन्छ । यो वस्तुगत नियम हो । पार्टी शुन्यतामा नभै समाजमा अस्तित्वमा रहने हुनाले समाजमा वर्ग रहेसम्म हरेक कम्युनिष्ट पार्टीमा यस्तो संघर्ष भईरहन्छ ।
ईटालीमा अस्तित्वमा रहेको एक कम्युनिष्ट पार्टीको दस्तावेजमा अझ प्रष्टसंग लेखिएको छ (दुई लाईन संघर्षको सिद्धान्तले हामीलाई बताउछ कि कम्युनिष्ट पार्टीमा दुईवटा प्रवृत्ति सधैं अस्तित्वमा रहन्छन्(एक पक्ष अग्रगामी हुन्छ,अर्कोले त्यसलाई रोक्न खोज्छ । यी सिद्धान्त पूँजीवाद र त्यसको विरोधी संघर्षको रुपमा वा सही र गलतविचको अन्तरसंघर्षको रुपमा वा नयाँ र पुरानाविचको अन्तरविरोधको रुपमा रहन्छ । कहिलेकहीं ती संघर्षहरु पार्टी विकासको लागि परिपूरकको रुपमा काम गर्छन् भने कहिलेकहीं ती संघर्षहरू शत्रुतापूर्ण र सहमतिमा आउनै नसक्ने खालका हुन्छन् । यस्तो संघर्षमा पार्टीको बामपन्थी पक्षले दक्षिणपन्थी पक्षलाई रुपान्तरण गर्नुपर्छ । यदि दक्षिणपन्थी पक्ष रुपान्तरण हुनै मान्दैन भने पार्टीबाट निश्कासन गर्नु पर्छ ।
तत्कालीन नेकपाबाट अड्डासार हुदै एमालेमा आएको विवादलाई वैवारिक कलेवर दिने वा दुई लाईन संघर्षजस्तो बनाउने प्रयास हुदै आएको छ । हाल एमालेभित्र असन्तुष्ट सानो समूहले आफूहरू मात्र सच्चा समाजवादी रहेको तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीचाहिँ दलाल पूँजीवादी रहेको जस्ता आधारहीन तर्क समेत गरेको सुनिन्छ तर त्यसलाई पार्टीभित्र र बाहिर पनि कसैले पत्याएका छैनन् । बरु पद प्राप्तिको केही नेताहरुको एकोहोरो रोड्याईंले उनीहरूलाई नै पदविहिन मात्र होइन, पार्टीविहिन बनाउने समेत खतरा बढ्दै गएको छ ।
२.एमाले प्रष्ट, गुटमा अन्यौल
सत्ताको बागडोर सफलतापूर्वक समालिरहेको एमालेमा कुनै अन्यौल छैन । राष्ट्रको अग्रगति र पार्टीको अग्रगतिको लागि निस्चित योजनाका साथ अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, देशको सार्वभौमिकता, भौतिक पूर्वाधार, शान्ति सुरक्षा,सामाजिक सुरक्षा, भ्रष्टाचार न्यूनीकरण, सुशासनलगायतका क्षेत्रमा उपलब्धिको चाङ् लाग्न थालेको छ ।
सरकारले गरेका जनमुखी र समाजवादोन्मुख कामले पार्टीमा जनमत बढेको छ । ब्युँझिएको एमालेमा तत्कालीन माओवादी केन्द्रका शीर्ष नेतासहित दुई दर्जन केन्द्रिय नेतासहित लाखौंको जनमत थपिनु तथा विभिन्न पार्टी र शक्तिमा रहेका देशभक्तहरूको समर्थन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पाउनु यसको प्रत्यक्ष प्रमाण हो । समकालीन नेपाली राजनीतिमा एमालेको फराकिलो अग्रता सुनिस्चित छ ।
उता हाल एमालेको साधारण सदस्यता समेत नरहेका नेताले सञ्चालन गरेको समूह (गूट)मा अन्योल व्याप्त छ । नेपाली राजनीतिका सर्वाधिक लोकपृय नेता पार्टी अध्यक्ष के पी शर्मा ओलीलाई नमान्ने, एमालेको बहुमतको निर्णय नमान्ने अनि एमालेमा हाल हुदै नभएको बरिष्ठ नेता बक्न लगाएर आफ्ना सीमित समर्थकलाई सूर्य चिन्ह बोक्न लगाएर कति दिन ताहुरमाहुर गर्ने ? कानूनले,पार्टी विधानले र परम्पराले आफूलाई आधिकारिकता नदिएको प्रष्ट हुँदाहुँदै कति दिन म आधिकारिक हुँ भनेर कुर्लने ? पार्टीको अनुशासनको कारवाहीमा परेको झोंकमा समानान्तर कमिटी त बनाउने तर त्यसपछि के गर्ने ? वैधानिकताविनाको पार्टी गतिविधि पानीको फोकासरह हुन्छ भन्ने तथ्य कति दिन लुकाउने ? धागो चुँडिएको चङ्गाजस्तो कति दिन उडिरहने ? हिजो प्रचण्डको न्यानो काखमा पल्केर ? अब जबज भन्नु प्रतिगमन हो भन्नेले अहिले जननेता मदन भण्डारीको फोटो अगाडि उभिएर जबजप्रति ओठेभक्ति कति दिन दर्शाइरहने ? मनमौजी समानान्तर गतिविधलाई कति दिन विधि पद्धतिको लेपन लाईरहने ?
३.कार्यकर्तामा सकस
तत्कालीन नेकपाको ध्रुवीकरणमा प्रचण्ड–माधव समूहको डङ्का पिटाई लरतरो थिएन । के पी शर्मा ओलीलाई ठाउँको ठाउँ सडकबाटै अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गर्ने तागत थियो । त्यो समूहका सबै नेताको जिब्रोमा झुण्डिएको थियो (हामीसंग बहुमत छ, आधिकारिक पार्टी हामी हौं, सूर्य चिन्ह हाम्रो हो १ यसले कार्यकर्तामा केही भ्रम छरेको थियो, आधिकारिक पार्टीको पक्षमा लाग्नु पर्छ भन्ने सोचाईले काम गरेको थियो, जुन नितान्त स्वभाविक थियो । तर अहिले एमालेको माधव पक्षसंग न पार्टीको आधिकारकता छ, न बहुमत छ, न सूर्य चिन्ह नै । केही एमाले कार्यकर्ताको माधव नेपालसंगको हिजोको निकटता आज विकटतामा परिवर्तन हुदैछ । उनीहरूसंग एमाले र सुर्य चिन्ह छोड्ने तागत र रहर दुवै छैन, न नयाँ पार्टी बनाउने आँट नै । तिनीहरुलाई थाहा लाग्नेछपार्टी विचार, विधिविधान, प्रक्रियाबाट मात्र बन्न सक्छ, लक्षविहीन ताउर माउरले होइन ।
प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार २ : १२ बजे
प्रतिक्रिया