‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झापामा ४५ हजारले लगाए कोभिशिल्ड खोप

भद्रपुर, झापा । झापामा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो र दोस्रो चरणमा गरी सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ ।

झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४ सय ५५ जनाले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २ सय जनाले खोप लगाएका छन् ।

भद्रपुर नगरपालिकाका ३ हजार ७५ जनाले, शिवसताक्षी नगरपालिकाका ४ हजार ७ सय ४९ जनाले, गौरादह नगरपालिकाका ४ हजार ६ सय ५३ जनाले, बिर्तामोड नगरपालिकाका ३ हजार ७ सय ७३ जनाले, कनकाई नगरपालिकाका ३ हजार ४ सय ९९ जनाले, मेचीनगर नगरपालिकाका २ हजार ८ सय ५४ जनाले र अर्जुनधारा नगरपालिकाका २ हजार ७ सय २३ जनाले खोप लगाइसकेका छन् भने कमल गाउँपालिकाका ३ हजार २ सय ४८ जनाले, गौरीगञ्ज गाउँपालिकाका २ हजार ४ सय ५१ जनाले, कचनकवल गाउँपालिकाका २ हजार १ सय २३ जनाले, हल्दिबारी गाउँपालिकाका २ हजार १ जनाले, झापा गाउँपालिकाका १ हजार ८ सय २३ जनाले, बुद्धशान्ति गाउँपालिकाका १ हजार ७ सय ९ जनाले र बाह्रदशी गाउँपालिकाका १ हजार २ सय जनाले उक्त खोप लगाइसकेका छन् ।

पहिलो चरणमा कोभिड–१९ महामारी विरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयंसेवकहरूले खोप लगाएका थिए, त्यसपछि पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूले खोप लगाएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २६ बजे