‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सीमा नाकामा स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौड्यालले हाल छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेकाले भारत नेपाल सीमाका सबै प्रवेश बिन्दुहरूमा ज्वरो तथा लक्षणको जाँच गर्न सम्बन्धित स्वास्थ्य कार्यालयलाई निर्देशन गर्नभयो ।

डा. पौड्यालले देशमा पूनःसंक्रमणको जोखिम कम गर्न नेपाल भित्रने सबै नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउँदै क्वारेनटाइनमा बस्न, सङ्क्रमणको उच्च जोखिम हुन सक्ने क्षेत्रको पहिचान गरी समुदायमै एन्टीजेन परिक्षण गर्न समेत स्वास्थ्य निकायलाई निर्देशन दिनुभयो ।

यस्तै, मन्त्रालयले छिमेकी देशहरूमा कोरोना संक्रमण बढेकाले नेपालमा समेत यसको जोखिम बढ्न सक्ने भन्दै देशभर सभा, जुलुस, भेला, गोष्ठी, सेमिनार, बैठक भिडभाड हुने व्यवसाय तथा कार्य नगर्न अनुरोध गरेको छ ।

यस्तै, आज ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार १ सय ८१ वटा नमूनाको परिक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।

यस्तै आज १ सय ६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ ।

आज गम्भीर लक्षण भएका ३१ जना आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २४ बजे