‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नु भएको छ  ।

नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो  ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जानुभएको हो  ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधन सम्बन्धी सम्झौता लगायत तीनवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

उहाँ स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुनेछ । त्यहाँ पुग्दा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । सो पश्चात् उहाँ त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नुहुनेछ । 

सोही दिन उहाँका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ०० बजे