आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ः०० बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । 

पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो । 

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उहाँले जानकारी दिनुभयो । 

विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०:०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंह चोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ । र्‍यालीका सहभागी अमरसिंह चोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोहमा सहभागी बन्नेछन् ।

उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात् दिउँसो २:०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ः०० बजेदेखि ५ः५ं० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्ल चोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । 

उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३  वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ४४ बजे