प्रधानमन्त्री पोखरा जानुहुँदै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जानुहुने भएको छ । 

आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउनुहुने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्र पत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उहाँले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंह चोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ ।र्‍यालीका सहभागी अमरसिंह चोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोहमा सहभागी बन्नेछन् । 

उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात् दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ः०० बजेदेखि ५ः५ं० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्ल चोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । 

उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३  वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : २९ बजे