मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

काठमाडौँ । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत् उत्पादन सुरु गरेको छ । 

पूर्व राज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत् उत्पादन सुरु गरेको हो । 

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा  गरिसक्नुभएको छ । 

हाइड्रोपावर सम्पन्न भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताउनुभयो । 

उहाँले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिनुभयो । “स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्कासन गर्ने तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो । 

इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको पाँच दशमलव दुई मेगावाट उत्पादन गर्न सक्ने क्षमता रहेको बताउनुभयो । रासस

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ०२ बजे