सुनको मूल्यमा नयाँ कीर्तिमान

कोरोनाको ‘वि एफ ७’ भेरियन्ट अरु भन्दा चारगुणा बढी संक्रामक

काठमाडौँ – छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताउनुभयो । 

    उहाँका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । “चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ”, उहाँले भन्नुभयो, “भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।”

    नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । 

    मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ ।

    नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । हिजो पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।  
 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ०१ बजे