दलित गाउँका पहिलो शिक्षक

डिएसपी ठगबहादुर निलम्बनका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक(डिएसपी)ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि मङ्गलवार गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । 

उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण)मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो । 

ब्युरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो । 

उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो । 

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार  फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । 

सिआइवीको टोलीले त्यसपछि बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । 

प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ । 

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ३२ बजे